Logo

३५ लागे गौरव, भन्छन्ः ‘साइँली नै मेरो वर्तमान र भविष्य’

पछिल्लो पुस्ताका कलाकारहरुको गन्तिमा खारिलो अभिनय पस्किने नाममा अग्र पङ्ग्तीमा आउने नाम हो गौरव पहारी । उनै गौरवले आज (सोमबार) आफ्नो जन्मदिन सेलिब्रेट गरिरहेका छन् । परिवार तथा आफन्तजनहरुको साथमा जन्मदिन मनाईरहेका गौरव सोमबार अपराह्न फिल्मीनेपालसँगको कुराकानीमा हर्षित सुनिए ।

३४ औँ वसन्त पार गरेर सोमबार बाटै ३५ लागेका गौरव यतिबेला ‘साइँली’ बाहेक केहि सोच्न सकिरहेका छैनन् । फिल्मीनेपालसँगको कुराकानीमा उनले भने, ‘मेरो वर्तमान र भविष्य नै साइँली हो ।’ केहि महिना पहिले नै निर्माण घोषणा भएर पनि फ्लोरमा जान नसकेको फिल्म कै लागी गौरव यतिबेला नियमित होमवर्कमा व्यस्त छन् । ‘अभिनेत्री मेनुका प्रधानको दुर्घटनामा खुट्टा ‘फ्याक्चर’ भएको कारण फिल्मको काम अघि बढ्न सकेको छैन् । मेनुका विस्तारै रिकभर हुँदैछिन् ।

‘साइँली’कै कारण अन्य फिल्ममा अनुबन्ध भएको छैन्, हातमा आएका स्कृप्टहरुलाई पनि एकपछि अर्को गर्दै पर धकेल्नु परेको छ, गौरवले भने, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, गीतले पाएको लोकप्रियतामा नै अडिएर फिल्म बनाउँदै छौँ, गीत हेरेर माया दिने कोहि कसैको पनि सद्भाव र मायालाई अन्याय गर्नेछैनौँ ।’

हेमन्त रानाको ‘साइँली’ गीतमा ‘साइँला’को भुमिकामा रहेका गौरवले त्यसबाट ठुलो लोकप्रियता कमाए, उक्त गीत रिलिज पश्चात उनलाई नजिकका साथी सर्कल र आफन्त मात्रै होईनन् फ्यान र शुभचिन्तकहरुले पनि ‘साइँला’ भनेर सम्बोधन गर्दै आएका छन् । ‘यो मेरो सफलता मात्रै थिएन म माथी धेरैले दिनुभएको र दर्शाउनु भएको माया हो, त्यसैले त्यसलाई मर्न कदापी दिने छैन, गौरवले भने, ‘छिट्टै फिल्मको काम सुरु हुन्छ अनि मनोभावना बुझ्ने प्रकारको फिल्म लिएर अर्को बर्षको मध्यसम्म आम दर्शकामाझ आउँछौँ ।’

यसैबीच गौरवले सोमबार अकस्मात भएको विमान दुर्घटनाबाट आफु निकै दुखी भएको भन्दै मृतक सबैमा श्रद्धाञ्जली प्रकट गरेका छन् । घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले दैवको खेल भनेझैँ अकस्मात सृजना भएको घटनाबाट ज्यान गुमाउनेहरुको आफन्तजनहरुप्रति समवेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह पनि गरेका छन् ।

Comments