नेपाल आइडल बनेपछि बुद्ध लामाको पहिलो गीत सार्वजनिक
युवा गायक बुद्ध लामा ‘नेपाल आइडल’ भएपछिको पहिलो गीत–गजल लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि…’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । गजलकार वाग्लकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।
हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो ।
अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । अभिनेता पल तथा अभिनेत्री आँचलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन् ।
उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ । गजलकार सुरेश वाग्ले गायक शिव परियारको सांगीतिक जीवनको पहिलो गजल ‘जति बिर्स्यो तिम्रो याद…’ का रचनाकारको रुपमा समेत चिनिन्छन् ।