‘सेल्फि किंग’ बन्दै विपिन कार्की, साथ दिन लक्ष्मी तयार !
विपिन कार्कीलाई कमेडी किंग बनाउने तयारी सहित फिल्म ‘सेल्फि किंग’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो ।
गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एन्जलस सिटी कलेजमा चलचित्र निर्देशन अध्ययन गरेका बिशालको यो डेब्यू फिल्म हुनेछ ।
फिल्ममा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।
कार्यक्रममा बोल्दै निर्देशक बिशालले एउटा हाँस्यकलाकारको कथालाई आफुले चलचित्रमा उतार्न खोजेको बताएका छन् । के यो कुनै हाँस्यकलाकारको बायोपिक हो भन्ने प्रश्नमा उनले यो हरेक कलाकारको बायोपिक हुन सक्ने बताए ।
यस्तै निर्देशनबाट निर्माणमा आएका दिनेश राउतले बिशालले सुनाएको कन्सेप्ट आफुलाई मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताएका छन् । नयाँ निर्देशकलाई लिएर फिल्म निर्माण गर्नुको कारणबारे उनले भने – ‘यो प्रतिभा भएर पनि प्लेटफर्म नपाएका व्यक्तिहरुका लागि ढोका खोलिएको हो ।’
यस्तै निर्माता सुभाष थापाले आफुले सधैँ टिममा विश्वास गर्ने गरेको भन्दै यसपटक पनि अर्का निर्माता दिनेश र निर्देशक बिशाललाई विश्वास गरेको जनाए । उनले आफुले यसअघि पनि दिनेशलाई बिश्वास गरेर प्रसाद बनाएको र यसपटक पनि निर्माणमा सहकार्य गरेको बताएका छन् ।
फिल्ममा बिपिनको शिर्ष भुमिका रहनेछ । बिपिनले सेल्फि किंगको भूमिका निर्वाह गर्नेछन् । हाँस्यकलाकारको जीवनको कथा भन्ने फिल्म भएकोले पनि आफुले कथा सुन्दा साथ काम गर्न उत्साहित भएको बिपिनले बताए । उनले निर्देशक बिशालको प्रसंशा गर्दै भने – ‘उहाँ नयाँ भए पनि नयाँ जस्तो लागेन, फिल्म बुझेको र उत्कृष्ट काम गर्न सक्ने निर्देशकका रुपमा पाएको छु ।’
यस्तै लक्ष्मी बर्देवाले पनि आफु यसको कथा सुन्दा नै काम गर्न निकै उत्साहित भएको बताइन । यस्तै अभिनेत्री केकी अधिकारीले आफ्नो भुमिका छोटो भएपनि विशेष रहेको बतइन् । बिशाल र केकीले यसअघि दिनेश राउतको डेब्यू निर्देशन रहेको ‘आइएम सरी’मा कलाकारको रुपमा सँगै काम गरेका थिए ।
निर्देशक बिशालकै लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, उत्तम न्यौपानेको डाउण्ड डिजइन, बिनोद नेपालको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।