कहाँ अड्क्यो अनमोलको ‘पारस’ ?
निर्माता माधव वाग्लेले निर्देशनमा डेब्यू गर्ने चर्चाका बीच निर्माणको घोषणा भएको फिल्म ‘पारस’को काम कोभिड १९ ले प्रभावित गरेको छ । नेपाल सरकारबाट फिल्म छायांकनको लागि औपचारिक इजाजत नमिलिरहेको समयमा यो फिल्मको छायांकन पनि अन्यौल बनेको हो ।
निर्माता, निर्देशक माधव वाग्लेले फिल्मको स्कृप्टको सम्पुर्ण काम सकिएको भन्दै मात्र सरकारी अनुमति पर्खिएको बताए । तर सरकारले छायांकन अनुमति दिँदै गर्दा पनि ‘पारस’ तत्काल फ्लोरमा जानेछैन । लिड अभिनेता अनमोल केसीले छायांकन सुरु भइ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङ सकाएपछि मात्रै यो फिल्मको काम अघि बढ्नेछ ।
निर्देशक परिवर्तन भइ सिमोस सुनुवारलाई अनुबन्ध गरेको खबरलाई भने वाग्लेले नकारेका छन् । फिल्मीनेपालसँगको कुराकानीमा वाग्लेले भने, ‘मैले नै निर्देशन गर्ने हो, सिमोसले मलाई सघाउने भने सत्य हो ।’ निर्माता भुवन केसीसँगको सम्झौता अनुसार सिमोसलाई पनि टिममा अनुबन्ध गरेको वाग्लेले खुलाए ।

झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन सकिएपछि मात्रै अनमोल ‘पारस’लाई उपलब्ध हुनेछन् । त्यसपछि करिब १५ दिन वर्कसपमा जुटेर फ्लोरमा जाने वाग्लेले बताए । फिल्मको लागी लिडिङ लेडी पनि तय भइसकेको बताए पनि उनले नाम खुलाउन चाहेनन् । यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । तर प्रधानसँग पनि औपचारिक अनुबन्धन बाँकी रहेको बताइएको छ ।