Logo

पुरनको जन्मदिनमा ‘तीन जुङ्गे’ घोषणा

हाँस्यकलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन को अवसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् ।

यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरी’ लगायतका कमेडी फिल्म तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिश्रृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेश्रो साताबाट सुरु हुने जानकारी दिएका छन् ।

बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’ मा प्रमुख तीन जुङ्गे को–को हुने छन् भन्ने चाहिँ अहिले खुलाइएको छैन । ती तीन जुङ्गेको साथमा फिल्ममा निर्देशक थापा स्वयम्,लय संग्रौला, दमन रुपाखेति, निक शर्मा, सुमीत्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, ललीतसिंह साउद लगायतका कलाकारले अभिनय गर्नेछन् ।

लिड कलाकार साथै केही प्राबिधिकको छ्टि्टै टुंगो लगाइने भनिएको फिल्मलाई बिमल ढकालले खिच्ने छन् । बिनोदकुमार भुजेलको संगीत, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहने फिल्मलाई ललीतसिंह साउदले सम्पादन गर्ने जानकारी निर्देशक थापाले दिएका छन् । यो फिल्मलाई काठमाडौ,मुस्ताङ,पोखरालगायतका स्थानमा खिचिने छ ।

Comments