दर्शकको मन जित्दै ‘बुलाकी’को ‘नाच सुवा नाच’
आगामी नयाँ बर्ष २०८० को पहिलो दिनलाई प्रदर्शन मिति तोकेको फिल्म ‘बुलाकी’ पोस्टर सार्वजनिकको समयदेखि नै प्रतिक्षित फिल्मको सुचीमा छ । कमर्सियल फिल्मको भिडमा फर्स्टलुक सार्वजनिकसँगै फरक स्वाद पस्केको फिल्मको टिजर पनि सामाजिक सञ्जालमा लोकप्रिय बन्यो ।
उक्त फिल्मको टिजर नै युट्यूवमा हालसम्म १० लाख बढि पटक हेरिसकिएको छ । यो बीचमा यसै साता निर्माण टिमले फिल्ममा समावेश मेला गीत सार्वजनिक गर्यो । पहिलो अपलोडमा प्राविधिक समस्या देखिएपछि पुनः अपलोड गरिएको गीत दर्शक श्रोतामाझ लोकप्रिय बन्नेगरी अघि बढेको छ । नेपालमा सर्वाधिक प्रयोगमा आउने सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राममा फिल्मको ‘नाच सुवा नाच’ बोलको गीत चर्चामा छ । हजारबढिले फिल्मको उक्त गीतमा टिकटक बनाउँदा युट्युवमा पनि प्राप्त कमेन्ट उत्कृष्ट छन् ।
अभिनेता विराज विष्ट फिल्मप्रति पूर्ण आशावादी छन् । पोस्टरदेखि टिजर हुँदै पहिलो गीत सार्वजनिक गर्दासम्म दर्शकले दिएको प्रेमले फिल्मको सफलताको संकेत गरिसकेको दाबी विष्टको छ । देशको एक भेगको विसुद्ध यथार्थतालाई पर्दामा उतार्नु त्यती सहज नभएको भन्दै विष्टले कर्णाली भेगको वास्तविकता बुझ्नको लागि ‘बुलाकी’ कुनैपनि हालतमा हेर्नै पर्ने फिल्म भएको बताए ।
यो फिल्मले कर्णाली र मध्य पश्चिम तथा सुदूर पश्चिम भेगमा हालसम्म पनि विद्धमान ‘जारी’ प्रथाको कथालाई उठान गरेको छ । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन । लक्ष्मण यसअघि कर्णालीको दुःखलाई पर्दामा उठान गर्दै ‘रेलको बाटो’ बोलको भिडियो बनाएर चर्चामा आएका निर्देशक हुन् । उक्त गीतले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत अवार्ड जित्न सफल भईसकेको छ ।
हालै सार्वजनिक भएर चर्चा बढाउँदै अघि बढेको गीत ‘नाच सुवा नाच’मा स्वर भ्वाइस अफ नेपाल पहिलो सिजन विजेता सिडी विजय अधिकारी र पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको छ । गोविन्द मधुर आचार्यको शब्द तथा संगीतमा तयार भएको गीतले कुनै मेलाको अबसरमा कलाकारहरूले प्रस्तुति दिएको छनक दिन्छ । गीतमा नरेन र सुरक्षासँगै मोडल तथा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रौलेले कम्मर मर्काएका छन् ।
छत्रेस्वरी म्यानेजमेन्ट प्रा.ली.को ब्यानरमा बनेको यो फिल्म स्व. मोति बिष्टको प्रस्तुति र टोपेन्द्र बिष्टको निर्माणमा तयार भएको हो । फिल्ममा प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा,सोनु सेढाइ, धनबहादुर राई, वसन्त परियार, लक्ष्मण देवकोटा लगायतलाई पनि अभिनयमा देख्न सकिनेछ ।
शिव ढकालले खिचेको फिल्ममा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत समावेश छ । फिल्मको सम्पुर्णजसो छायांकन पश्चिम नेपालको जाजरकोट, रुकुम र डोल्पामा गरिएको छ । निर्माण टिमले केहि दिनमै फिल्मको ट्रेलर सार्वजनिक गरेर आक्रामक प्रचारको थालनी गर्ने बताएको छ ।
अर्जुन जिसीले सम्पादन रहेको फिल्मको कथा राजबहादुर सानेको हो । यो फिल्मलाई काठमाडौंमा त्रिनेत्रम डिष्ट्रिव्युसन र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएका छन् ।
फिल्मको गीत हेर्नुहोस्ः
फिल्मको टिजर हेर्नुहोस्ः