चलचित्र कलाकार संघमा मोहन निरौलाको नेतृत्व
नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वमा वरिष्ठ कलाकार मोहन निरौला आएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको चुनाबी साधारणसभाले निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व छनोट गरेको हो ।
कुल खसेको ४ सय ६८ मतमा निर्वाचित निरौलाले २३५ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेती २६ मतलेपछि परिन् । उनले २ सय ९ मत पाइन् ।
संघको उपाध्यक्षमा कविता गेलाल १ सय ५१ र शिवहरी नेपाल १ सय ४० मत ल्याएर निर्वाचित भए । उक्त पदमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् । पाँच प्रतिस्पर्धी रहेको पदमा उनले उत्तम केसी (९७) लाई पछि पार्दै १ सय १२ मत ल्याएर विजय सुनिश्चित गरेका हुन् ।
सचिव पदमा रामेश्चर बुर्लाकोटीले २ सय २३ मत ल्याएर जीवन थापा (१७७) लाई पछि पार्दा कोषाध्यक्ष पदमा सुनिल कटुवालले २ सय ६० मल ल्याउँदै विनोदकुमार भट्टराई (१५४)लाई पछि छोडे ।
१० जना निर्वाचित हुने सदस्य पदमा २५ जनाले प्रतिस्पर्धा गर्दा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भए । यस्तै गोपाल ढकाल ‘छन्दे’ (२८७), उद्दवप्रसाद भट्टराई (२११), पवन केसी (२०२), नम्रता खरेल (१८७), पुकार भट्टराई (१८२), खुश्वु खड्का (१७७), सरिता राधोपाध्याय (१४६), रोशन श्रेष्ठ (१३५) र समीर लामा (१३३) ल्याएर विजय भए ।
निर्वाचित भएपछि नव अध्यक्ष निरौलाले पराजित रेजिना उप्रेतीलाई समेटेर र उनको एजेण्डालाई सम्बोधन हुनेगरि काम गर्ने बताए ।