‘महाजात्रा’ फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । ब्लकवस्टर ‘जात्रा’ शृङ्खला अन्तर्गतको फिल्म ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा प्रमुख चार कलाकार फिचर्ड छन् । निर्माण टिमले चैत्र ९ गतेलाई प्रदर्शन मिति तोकेको छ ।
सार्वजनिक पोस्टरले ‘महाजात्रा’बाट शृङ्खलामा जोडिएका वरिष्ट हाँस्य कलाकार हरिवंश आचार्यलाई बन्धक बनाएर ह्वील चीयरमा देखाइएको छ । साथमा जात्रा’त्रय अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा फिचर्ड छन् । पृष्ठभूमिमा गाडी र पैसा देखाइएको छ । प्रदीप भट्टराई निर्देशक हुन् ।
षट्कोण आर्ट्सको प्रस्तुति ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको निर्माण टिम बताउँछ । यो फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय समावेश छ ।
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, आशिष अविरल संगीत समावेश छ ।