फागुनमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
काठमाडौं । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (जिफ) को प्रथम संस्करणको औपचारिक घोषणा गरिएको छ । आगामी फागुन १६ देखि १८ सम्म मधेश प्रदेशको जनकपुरधाममा हुने चलचित्र महोत्सवको मंगलबार राजधानीमा औपचारिक घोषणा गरिएको हो ।
चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको आयोजक संस्था संबाद फाउन्डेसनका अध्यक्ष कुमार भाष्करले जानकारी गराएका छन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय पानोरोमा, नेपाली पानोरोमा, स्टुडेन्ट पानोरोमा जस्ता विविध श्रेणीहरुमा चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा हालसम्म ११४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन आइसकेको र नेपाली पानोरामामा चलचित्र दर्ताको क्रम जारी रहेको आयोजकले जानकारी गराएको छ ।
जिफको घोषणा कार्यक्रममा शुभकामना मन्तव्य दिँदै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जनकपुरले मिथिलालाई प्रतिनिधित्व गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका चलचित्र र स्वदेशमा बनेका चलचित्रहरु सांस्कृतिक धरोहर जनकपुरको एउटै मञ्चमा प्रर्दशन हुनु आफैँमा खुसीको कुरा रहने बताए ।
उनले भने, जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा तराईका विभिन्न भाषा तथा संस्कृतिमा बनेका चलचित्रहरु समेत प्रर्दशन हुनेमा विश्वास लिएको छु ।
जनकपुर चलचित्र अन्तर्राष्ट्रिय महोत्सव नेपाली चलचित्रका लागि, नेपालको संस्कृतिका लागि र समग्र नेपाललाई चिनाउने प्रयासका लागि नयाँ जागरण हुनेछ । यस महोत्सवले विश्व मञ्चमा नेपाली कला–संस्कति चिनाउनका लागि सेतुको काम गर्नेछ,’ डिसीले भने ।
कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिनेमा मनोरञ्जनमात्र होइन, शिक्षा हो, जागरण हो र समाजलाई मूल्यांकन गर्ने माध्यम रहेको बताए । झाले तराई–मधेश क्षेत्रका भाषा, संस्कृति र समुदायको प्रतिनिधित्व नेपाली चलचित्रले कम गरेको अनुभव भइरहेको समयमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले विश्वका प्रतिस्पर्धी चलचित्रहरुलाई जनकपुरको आँगनमा प्रर्दशन गर्ने महत्वपूर्ण कार्यक्रम सफल बनाउनु सबैको जिम्मेवारी रहेको बताए ।
अभिनेत्री रेखा थापाले आफुलाई मधेसको चेलीको परिचय दिँदै मधेश प्रदेशमा हुन लागेको यो चलचित्र महोत्सवले सिंगो नेपाली कला, संस्कृतिको प्रतिनिधित्व गर्नेमा विश्वास लिइन् । ‘कला र महिलाको जननी मिथिला हो, मौलिक संस्कृति र भाषामाथि अतिक्रमण भइरहेको समयमा यस किसिमका महोत्सवले कला र नेपाली चलचित्र उद्योगलाई विश्वबजारमा डोर्याउने माध्यम बन्नसक्ने बताइन् ।
जनकपुर चलचित्र महोत्सवको घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, चर्चित अभिनेत्री रेखा थापा, वरिष्ठ चलचित्र निर्माता माधव वाग्ले, विराज विष्ट, चलचित्र निर्देशकहरु सुवर्ण थापा, नवल नेपाल, टासी लामा, लय संग्रौला, रक्षासिंह राणा, अभिनेताहरु पुष्प खड्का, प्रकाश शाह, नरेन खड्कालगायतको उपस्थिति थियो ।