चार महिनामा ‘बलिदान’ इण्डक्ल्याप, रिलिज मितिबारे सेनको पुरानै कथन !
काठमाडौं । घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन चरण पार गरेको जानकारी दिएका छन् । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।
निर्देशक सेनका अनुसार, ‘बलिदान’ लाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । सेनले भने, “कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक, र प्रविधिको छनोट – हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक, र भावनात्मक रूपमा धेरै सङ्घर्ष गर्यौँ, तर चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौँ ।”
अब चलचित्रको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । चलचित्रको प्रदर्शन मितिबारे भने निर्देशकले आफ्नो पुरानै कथन दोहोर्याउँदै भने, “अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।”
यस चलचित्रमा १२ गाउँ’बाट व्यापक चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका दिग्गज कलाकारहरूको अभिनय छ ।
‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ । चलचित्रमा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए ।
यस चलचित्रको क्लाइमेक्स दृश्यहरू छायाङ्कनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।