विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३ सय रोपनी जग्गामा सम्झौता
धुलिखेल । धुलिखेल नगरपालिकाको ३९ औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र नगरपालिकाबीच १३ सय रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौता आदान प्रदान गरे ।
सम्झौता समयमा पुर्व सञ्चारमन्त्री माननीय गोकुल बाँस्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केएल पीडित तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्का आदिको उपस्थिति थियो । अध्यक्ष डिसीले कार्यक्रममा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे।
उनले भने, “यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ, यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।” नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि धुलिखेल नगरपालिकाले हरतरहले साथ दिने बताउँदै यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउने विश्वास पोखे । पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान उनको बुझाई छ ।
नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकहरूलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्ड अध्यक्ष डिसीले बताउँदै आएका छन् ।