Logo

‘फेरि रेशम फिलिली’ हाँसोको पूर्ण प्याकेज: निर्देशक महर्जन

काठमाडौं । २०७२ सालमा सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेलको रूपमा झण्डै १० वर्षपछि ‘फेरि रेशम फिलिली’ आउँदैछ । अर्को हप्ता (फागुन १४) बाट दर्शकमाझ आउने यो फिल्म सार्वजनिक प्रचार सामग्रीको कारण चर्चामा छ ।

त्यसो र प्रनव जोशीको निर्देशनमा बनेको ‘रेशम फिलिली’को सिक्वेल बन्दा त्यसलाई नव निर्देशक निरोज महर्जनले निर्देशन गरेका छन् । नव निर्देशकको परिक्षाको घडी नजिकिँदै गर्दा फिल्मले तान्न सक्ने दर्शकको अड्कलबाजी सुरू भइसकेका छन् । नेपाली दर्शकमाझ लोकप्रिय बनिरहेको कमेडी जनरामा फरक स्वाद पस्केको भनिएको यो फिल्मलाई दर्शकको नजरमा पार्न निर्माण टिम संघर्षरत छ ।

निर्देशक महर्जन आफ्नो फिल्मले सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने ठान्छन् । उनलाई यो फिल्मबाट ‘रेशम फिलिली’को निर्देशक भन्दा ‘स्ट्याण्डआउट’ हुनुपर्ने चुनौती छ । यसमा उनी आशावादी सुनिए।

‘त्यही उदेश्यले नै गरेको हो । गीत, टिजर र ट्रेलर आइसकेको छ । यसले त्यो चुनौतीलाई राम्रो प्रतिक्रिया दिइरहेको प्रतिक्रिया पाइरहेको छु । अब स्ट्याण्डआउट कुन रुपमा कसरी हुन्छ फिल्म रिलिजपछि दर्शकहरुले अझ स्पष्ट रुपमा भन्नुहुनेछ । तर यो फिल्ममा मलाई भन्न मन लागेको कथा भनेको छु, जुन रिलिजपछि देखिने नै छ ।’

दर्शकलाई वाचा गर्ने भनेको हाँसोको भरपुर मनोरञ्जन हो । फिल्ममा दुई मूल पात्र छन् – रेशम र हरिया , जहाँ हरियाले रेशमलाई आफ्नो बचपना हर्कतले हरदम समस्यामा पारिरहन्छ । यही कुराले फिल्मको कथालाई कमेडीको उचाइमा लादैं दर्शकलाई मनोरञ्जनको डोज पस्कन्छ ।

नवनिर्देशक यो मामिलामा कुन रुपमा प्रस्तुत होलान ? उनी माथि यो फिल्मलाई लिएर उठ्ने एउटा अर्को प्रमुख प्रश्न हो । ‘यो कुरामा म विश्वस्त छु । पहिलेको जस्तै अहिलेकोले पनि दर्शकलाई हँसाउनेछ । त्यसका अलवामा मैले टिजर ट्रेलरमा मैले ‘नट जस्ट अ कमेडी’ भनेर बकाइदा लेखिदिएको छु । यसमा कथा छ जसले सन्देश पनि दिन्छ । कमेडीको साथमा ड्रामा पनि छ। म त यसलाई अझ कमेडी-ड्रामा भन्न रुचाउँछु । निश्चित रुपमा यो पहिलो भन्दा फरक छ ।’

यस्तो आत्मविश्वासमा रहेका महर्जन अगाडि भन्छन् – पहिलोभन्दा कथाका हिसाबले यो अझ राम्रो छ । दर्शकले यसलाई स्वीकार गर्नुहुनेछ, विषय र मुद्धामा अगाडि छ ।

निरोज आफ्नो यो फिल्मले पुरानो नोस्टालजियालाई अनुभूत गराउने बताउँछन् । फिल्मले रेशम र हरियाको मित्रताका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिदैं जसरी अहिलेको नेपाली समाजले विकशित मुलुक जानेलाई रोमान्टिसाइज गर्ने र खाडी मलेसियामा जानेप्रति राख्ने इतर दृष्टिकोण राख्छ यही कथा यसले भन्छ।

त्यसैले पनि यो फिल्म फर्मूला कम अर्गानिक नै भन्दा बढि न्यायपूर्ण हुने उनको बुझाइ छ । यो बाहेक अन्य विषय पनि फिल्मको सब-प्लटमा मुखरित भएको उनको भनाइ छ ।

यसैगरी उनि यो फिल्मलाई पहिलेको कथाको निरन्तरता भन्दा पनि रेशम र हरिया पात्रको मित्रताको नोस्टालजियामा भनिएको फरक परिवेशको कथा भन्न रुचाउँछन् ।

‘रेशम र हरियाको मित्रताको नोस्टालजिया यसले बोक्छ । त्यसका अलावा फिल्मले पूर्णतया नयाँ विषय र कथा प्रस्तुत गर्छ।’ महर्जनको आत्मविश्वास पर्दामा कसरी देखिन्छ त्यो भने फिल्म रिलिजपछि नै थाहा हुनेछ ।

Comments