Logo

हरिवंशको पुर्नजन्म लिएर आयो ‘भूठान’ टिजर |भिडियो

काठमाडौं । हरिवंश आचार्यको प्रमुख अभिनय रहेको चलचित्र ‘भूठान’को टिजर सार्वजनिक भएको छ । भूठान शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ ।

ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन्। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।

एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेकाछन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

सन् २०१९ मा ९२ औं अस्कर अवार्डको लागि नेपालबाट मनोनित चलचित्र “बुलबुल” निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो । यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी,अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन रहेको चलचित्रले भुटानदेखि नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ । यो चलचित्र वैशाख १२ ,२०८२ मा संसारभर प्रदर्शनमा आउनेछ ।

Comments