Logo

कमब्याकमा सुपुष्पाको परिक्षा


काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्।
सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो। सिनेमाका निर्माता उनका पति रौनकविक्रम कँडेल हुन्।
यो बीचमा यहि शुक्रबारबाट नयाँ सिनेमा रिलिजको संघारमा रहँदा के भन्छिन् सुपुष्पा ?
सुपुष्पा भन्छिन् – ‘सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुशी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो सिनेमामा काम गर्न पाएँ भनेर खुशी भएँ।’

निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि। यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन्। यो सिनेमाको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो सिनेमाको चुनौती सामना गर्ने चुनौती छ।

‘त्यो र योमा तुलना नै गर्न मिल्दैन। दुवै पात्र एक-अर्कासँग बिल्कुलै फरक छन्।’ सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ।

‘मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु। त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।’ यो सँगै फेरि उनलाई पात्रका लागि चाहिने जति तयारी नपुगेको हो कि भन्ने पनि छ। यसैबीच अर्को सिनेमालाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने उनलाई लागेको हो।

मेहनत नपुगेको जस्तो लागेकी उनी भन्छिन् – ‘अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ।’ सिनेमा गर्दा सुपुष्पाको एउटै चाहना हुन्छ – सिनेमाको स्क्रिप्ट राम्रो होस्, राम्रो परिदृश्य दिइयोस्।

संयोगवश ‘फेरि रेशम फिलिली’ त्यस्तै सिनेमा भइदियो उनका लागि। स्क्रिप्ट त राम्रो छ नै, यो सिनेमाको साथमा उनको भूमिकासमेत उत्तिकै राम्रो मिलेको छ। ‘मलाई सिनेमाको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ। यो सिनेमामा चाहिँ स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो”, उनले खुशी व्यक्त गरिन्।

उनले गरेको पात्र ‘च्यालेन्जिङ’ भएको उनको भनाइ छ। त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा लिन्छन् भन्ने चिन्ता भइरहेको छ। ‘चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ। एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ,’ उनले भनिन्।

सिनेमा फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ । सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ । कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा हुन् ।

(इ-मेल- दिनेश सिटौला फिल्मस्)

Comments