उत्साहजनक शोसहित प्रदर्शनको सम्मुखमा ‘फेरि रेशम फिलिली’
काठमाडौं । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ। सिनेमालाई देशभरका हलहरूले प्राथमिकताका साथ शोज उपलब्ध गराएका छन् ।
सिनेमाले काठमाडौं उपत्यका र मोफसलमा गरि हालसम्म १ सय २० शोज प्राप्त गरेको छ । यो संख्या खल्ती मोबाइल एप मा देखिएको तथ्यांक हो । मंगलबार सांझसम्म फिल्मले पाउने शोजको पूर्ण जानकारी आउनेछ ।
२०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो। तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो। त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दैसिनेमाको प्रशंसा गरिएको थियो।
करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ। यो पटक सिनेमाले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगी को द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत रहेको छ। सिनेमाको सम्पादन सुरेन्द्र पौडेल ले गरेका छन्।
सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको सिनेमाका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मातामा एनि थापा रहेका छन्। सिनेमाको निर्देशन निरोज महर्जन ले गरेका हुन्, जसले कथासमेत लेखेका छन्।