सेभेनसिज सिनेमाको ‘अभिमन्यु’ घोषणा
काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।
आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ ।
विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ । अब सिनेमा कस्तो बन्छ भन्ने दर्शकमा उत्सुकता जगाउने निश्चित छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह-निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् । निर्माणपक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन ।