फिल्मी फ्राईडेः सार्वजनिक प्रदर्शनमा ‘होस्टेल ३’
काठमाडौं । शुक्रबारबाट चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ ।
हिट सिरिज ‘होस्टेल’को तेस्रो संस्करण भएपनि यो चलचित्रमा पुरानो टिम जोडिएको छैन । टिकटकमा अभिनय गरेर चर्चित बनेका अनुहारहरू यो चलचित्रमा छन् । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ ।
माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसी एक्सन निर्देशक हुन् । अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन् । यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् । चलचित्रको वितरणलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यका बाहिर आरआर फिल्म्सले जिम्मा लिएका छन् ।