बलियो कमब्याकमा ‘कन्फिडेन्ट’ सुशीलः मेटिएला अनलक्कीको ट्याग ?
काठमाडौं । ‘अनलक्की हिरो’को ट्याग पाउँदै आएका अभिनेता हुन् सुशील श्रेष्ठ । सुगठित शरिर, पर्दामा विषय सुहाउँदो प्रस्तुतिबीच सुशील अभिनित पछिल्ला फिल्मले आशातित सफलता नपाउँदा उनि बलियो कमब्याक पर्खिरहेका छन् ।
यतिबेला सुशील फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘आउटलः दफा २१९’ले करियरमा नयाँ आयाम दिने दाबी गरिरहेका छन् । केहि दिन पहिले सार्वजनिक ट्रेलरले दर्शक तथा नेपाली फिल्मप्रेमीहरूमाझ उत्सुकता मात्र बढाएको छैन, सुशीलको कामले प्रशंसा भेटिरहेको छ ।
‘जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ । यो फिल्म हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौं । यो फिल्मबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं । यो फिल्म रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ ।’ हालै आयोजित प्रेस भेटमा सुशील बोले ।
के सुशीलले यो फिल्ममा निर्वाह गरेको भूमिका नकारात्मक हो ? उनि भन्छन्–‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो । यो फिल्ममा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितीले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ । यसको कथा यही सारमा छ ।’
यो फिल्ममा सुशीलले भिन्न शैलीको एक्सन गरेका छन् । तर, एक्सन गर्न सहज नभएको उनको भनाई छ । सुशील भन्छन्–‘एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ । ‘कट’ भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो । यो फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन ।’
फिल्ममा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने–‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो । दर्शकहरुलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’
विशेषगरि एक्सन फिल्ममा चुरोट नै पिउनुपर्ने, महिलाहरुलाई होच्याएर बोल्नुपर्ने कारण के त ? यसमा त्यस्तो दृश्य छ कि छैन, पत्रकारले सोधेको यो प्रश्नमा सुशीलले भने ‘यो फिल्मले महिलाहरुलाई माथि उठाउने काम गरेको छ । यो फिल्मले महिलाहरुलाई नराम्रो देखाएकै छैन । महिलाहरुमा कति शक्ति छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर देखाइएको छ ।’
विक्की महर्जनको निर्देशनमा बनेको यो फिल्ममा अमित अग्रहरिको लगानी छ ।