जन्मदिनमा प्रदीपलाई ‘सुपरस्टार’ ट्याग दिँदै ‘पिताम्बर’को एक्सनपूर्ण टिजर रिलिज
काठमाडौं । प्रमुख अभिनेता प्रदीप खड्काको जन्मदिनको अबसरमा फिल्म ‘पिताम्बर’को एक्सनप्याक टिजर सार्वजनिक गरिएको छ । प्रदीपलाई ‘सुपरस्टार’ अभिनेताको विशेषण भिराउँदै निर्माण कम्पनि केपी फिल्मस्’ले सोमबार फिल्मको नयाँ टिजर रिलिज गरेको हो ।
पुरुषोत्तम प्रधान फिल्मस्’सँगको सहकार्यमा निर्माण भएको यो फिल्म पूर्णतः एक्सनप्रधान छ । सार्वजनिक टिजरमा प्रदीप कतै रक्ताम्य छन्, कतै द्वन्द्वात्मक दृश्यमा आक्रामक छन् । टिजरमा प्रदीपलाई एक्लै फिचर्ड गरिएको छ ।
‘प्रेमगीत’ फिल्मबाट चर्चामा र अभिनेताको भिडमा अग्र पङ्ग्तिमा आएका प्रदीपले सोमबार ३३ औं जन्मदिन मनाइरहेका छन् । उनको करियरमा ‘पिताम्बर’ एक्सन जनरामा निर्णायक बन्न सक्ने अपेक्षा फिल्मवृत्तमा छ ।
यो फिल्ममा प्रदीप खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ । फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
कृषा चौलागाईको निर्देशन रहेको फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । यो फिल्मलाई आरआर फिल्मस्ले वितरण अधिकार लिएको छ ।