‘हेल्लो काँशीराम’ फर्स्टलुक सार्वजनिक, रिलिज मिति घोषणा
काठमाडौं । गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।
फिल्ममा दिलीप रायमाझीसँगै कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै युवा हाँस्य कलाकार उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु समेत अभिनयमा रहेको फस्टलुक पोस्टरमार्फत जानकारी दिइएको छ ।
दर्शकहरूले अभिनेत्री प्रियंका कार्कीलाई विशेष गेस्ट कलाकारको रूपमा देख्न पाउने निर्देशक रिम विश्वकर्माले जानकारी दिए । रेडलाइन फिल्मस् प्राली को ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यसका निर्माता पीबी थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र वियोगी र विपिन आचार्यले गरेका छन् ।
-रामजी ज्ञावलीको सहयोगमा