‘कोशेढुङ्गा’ फर्स्टलूक रिलिज, प्रदर्शन मिति घोषणा
काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को फर्स्टलूक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षले बिहीबार फर्स्ट लुक्सका रूपमा चलचित्रको पोस्टर बाहिर ल्याएको हो ।
भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ ।
तर, सिनेमाको कथाबारे निर्माणपक्षले केही बताएको छैन । “पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ । यसलाई अहिले यतिमै सीमित गरौँ,” ‘कोशेढुङ्गा’का निर्देशक सरोज पौडेलले भने, “अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौँ ।”
चलचित्र ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ ।
महिलाप्रधान चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ । सिनेमाका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।