अष्ट्रेलिया बस्ने नेपालीलाई करण राईले झुमाए !
काठमाडौं । गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन् । ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा प्रस्तुतिु दिएका छन् । करणलाई अष्ट्रेलियामा सम्मान समेत प्रदान गरिएको छ । कन्सर्टका साथै अष्ट्रेलियामा रहेका नेपाली दर्शक तथा फ्यानहरुसँग ‘मिट एण्ड ग्रिट’मा समेत व्यस्त भइरहेका छन् ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा गत शनिबार साँझ करणले आफ्ना दर्जनौं हिट गीतहरु मार्फत दर्शकहरुलाई नचाएका थिए । ‘करण राई नाईट’ नाम दिइएको सो कन्सर्टमा सयौं दर्शकहरू करणसंगै उनको प्रस्तुतीमा झुमे । दर्शकहरुको वान्स मोर र हुटिङपछि करणले लगातार ३ घण्टाजति धमाकेदार प्रस्तुती दिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा करण राईको उपस्थितिमा खेलकुदको क्षेत्रमा उदीयमान प्रतिभाहरूको विशेष सम्मान पनि गरिएको थियो । १५ वर्ष मुनिका खेलाडीदेखि भूतपूर्व भूटानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूलाई करण राईको हातबाट सम्मान गरिएको थियो । सम्मानित व्याक्तित्वहरुलाई करणले बधाई र शुभकामना दिए । भुटानी अष्ट्रेलियन कम्युनिटि सपोर्ट ग्रुप इन अल्बेरीका अध्यक्ष डमर क्षेत्रीले कार्यक्रम सफल भएको जानकारी गराए ।
त्यस्तै क्रिएटिभ जर्नी फाउन्डेसनको आयोजनामा केहि दिन अगाडी अष्ट्रेलियाको ताजमनियामा पनि करणको अर्को कन्सर्ट सम्पन्न भएको थियो । करणले कन्सर्टमा करिव एक घण्टा ३० मिनेट लगातार आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई झुमाएका थिए । कन्सर्टमा क्रिएटिभ जर्नी फाउन्डेसनको अध्यक्ष ओवेथ राईले करणलाई सम्मान हस्तान्तरण गरेका थिए । करणले पनि अष्ट्रेलियामा पाएको मायाले आफुलाई नयाँ संगीत सृजनाहरु गर्न उत्साहित बनाएको बताए ।