Logo

फोटो पत्रकार तिमिल्सेनाको ‘बारपाक फोटो प्रदर्शनी’ सम्पन्न

काठमाडौं । फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरुको प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा भएको ‘बारपाक फोटो प्रदर्शनी’ करिब एक हजार जनाले अवलोकन गरेको तिमिल्सेनाले जानकारी दिए ।

शनिबार माओवादी नेता तथा पूर्व उर्जामन्त्री जनार्दन शर्मा, विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, सचिव वैकुण्ठराज पराजुली, नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल, महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारी, विश्व साइकल यात्री पुष्कर शाह लगायतले प्रदर्शनी अवलोकन गरेका थिए ।

यसअघि शुक्रबार पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रदर्शनी अवलोकन गरेका थिए । यसैगरी एलआरआई, जोन डेबी लगायत स्कुलका विद्यार्थीहरुले पनि फोटो प्रदर्शनी अवलोकन गरेका थिए ।

बिहीबार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रदर्शनी उद्घाटन गरेका थिए । सो दिन थापासहित संसद्‍को राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोला, नाडाका पूर्वअध्यक्ष कृष्ण दुलाल लगायतले प्रदर्शनी अवलोकन गरेका थिए ।

फोटो पत्रकार तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई तस्बिर मार्फत चित्रण गरेर प्रदर्शन गरेका हुन् । २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दू भएर गएको भूकम्पपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरु प्रदर्शनमा राखिएका थिए ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको फोटो प्रदर्शनीको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ। अर्घाखाँची सिमेन्ट, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको सहयोग रहेको फोटो प्रदर्शनीको मिडिया पार्टनरको रुपमा नेपाल फोटो लाइब्रेरी रहेको छ।

प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकाले बनाउँदै गरेको भूकम्प संग्रहालयमा लगेर राखिने तिमिल्सेनाले जानकारी दिए ।

Comments