कृष्णसमिपको अध्यक्षतामा ‘पर्वत कलाकार समाज’को नयाँ कार्यसमिति चयन
काठमाडौं । पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली कला संगीत क्षेत्रमा सक्रिय कलाकर्मीहरूको छाता संस्था ‘पर्वत कलाकार समाज’को तेस्रो चुनावी साधारणसभाले गायक कृष्णसमिप सुवेदीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा कुमार केसी, उपाध्यक्ष प्रल्हाद सुवेदी, महासचिव सुजन बराईली, सचिव सुष्मा लोहनी, कोषाध्यक्ष सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा कल्पना काफ्ले चयन भएका छन् । यस्तै सदस्यहरूमा दीपक गुरुङ, दीपिका पौडेल, रमेश सेन्चुरी, यमुना रसाल, अमृत चापागाईं, भिमबहादुर पौडेल र अशोक पौडेल निर्विरोध चयन भएका छन् ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै संस्थापक अध्यक्ष वरिष्ठ गायक, संगीतकार तथा रचनाकार कस्तुप पन्तले हिजोको दिनमा संस्थाले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन दिँदै आएको भन्दै त्यसको निरन्तरताको अपेक्षा राखे । पर्वतको कुना काप्चाबाट गीत संगीतमा लगाव राख्ने हरेक प्रतिभालाई खोजी गरि सांगीतिक क्षेत्रमा स्थान दिन र प्रोत्साहन गर्न नयाँ कार्यसमिति लागि पर्ने पन्तले विश्वास पोखे । ‘नेपाली गीत संगीत क्षेत्रले अब गास, बास र कपास दिनसक्ने अवस्था आएको छ, लुकेका प्रतिभालाई स्थान दिँदा नै नदेखिएका सर्जक पहिलो पङ्ग्तिमा आउँछन, हाम्रो संस्थाको उद्देश्य र दायित्व नै यहि हो, पन्तले भने ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले अग्रजले नेतृत्व गर्दाका बाँकी काम पुरा गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताए । कला क्षेत्रमा उदाउँदो पुस्तालाई उर्जा, उत्साह र हौसलापूर्वक समेट्दै कला क्षेत्रको प्रवर्धनमा लाग्नु संस्थाको उद्देश्य रहने उनको भनाई छ ।
२०७५ सालमा स्थापना भएको पर्वत कलाकार समाज सम्बन्धित जिल्लाबाट नेपाली कला क्षेत्रमा प्रतिनिधित्व गर्ने कलाकर्मीहरूको साझा संस्था हो ।