Logo

अनुप बराल निर्देशित ‘दोख’को ट्रेलर सार्वजनिक |भिडियो

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पस ९स्टुडियो थिएटर० मा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्मले माओवादी कालखण्डको परिवेश प्रस्तुत गरेको छ । यद्यपी, फिल्मको कथा भने सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको झगडाको हो । फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ । सार्वजनिक ट्रेलरमा फिल्ममा शीर्ष भूमिकामा प्रस्तुत अधिकांश कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

माओवादी लडाकुको कुटपिट, सामुदायिक वनलाई लिएर दुई गाउँबीचको झगडा, वनको स्वामित्वका लागि दुई गाउँका युवाहरुबीच हुने फुट्वल खेल र फुटवल खेलमा जसले जित्छ वनमाथि सोही गाउँको स्वामित्व रहने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा गाउँका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीच अंकुराउन थालेको प्रेमलाई समेत प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा दीया विवाहित महिला र एक छोरीको आमाको भूमिकामा प्रस्तुत भएको अनुमान लगाउन सकिन्छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक अनुप बरालले २०७२ सालमा फिल्मको छायाँकन शुरु गरिएपनि विविध कारणले प्रदर्शनमा ढिलाई भएको बताए । भूकम्प, नाकाबन्दी हुँदै कोरोना भाइरस र निर्धारित बजेट सकिएपछि रोकिएको फिल्मको अन्ततः निर्माण सकेर अहिले भारी बिसाएको तर भारी गह्रौ नभएको बरालले बताए ।

राजन कठेतले लेखेको फिल्मको निर्माता सविनसँगै मनोज अधिकारी हुन् । फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिन कवि विप्लव प्रतिक र कलाकार प्रकाश घिमिरे समेत पुगेका थिए ।

Loading...
Comments