Logo

‘प्रसाद २’ औपचारिक घोषणा, तिहारलाई रिलिज टार्गेट

वैकुण्ठराज पराजुली / काठमाडौं । फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा भएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य अभिनयमा रहने फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक घोषणा गरेको हो ।

२०७५ सालमा प्रदर्शनमा आएको व्यवसायिक तथा समिक्षागत हिसाबले सफल फिल्म ‘प्रसाद’को सिक्वेलको रूपमा ‘प्रसाद २’ बन्न लागेको हो । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेल निर्देशन नगर्ने राउतको निर्णयलाई सम्मान गर्दै निर्माण टिमले सुदर्शनलाई निर्देशनको जिम्मेवारी सुम्पेको हो ।

सुशील पौडेलको लेखनमा बन्ने यो फिल्मबाट मेडिकल व्यवसायी केशव पाण्डेले फिल्म निर्माणमा हात हालेका छन् । निर्माता सुभाष थापासँग पाण्डेले फिल्मको निर्माणमा साझेदारी गरेका हुन् । कार्यक्रममा बोल्दै पाण्डेले कर्पोरेट क्षेत्रले फिल्ममा लगानी गर्दा यो क्षेत्रको व्यवसायिकता माथी उठ्ने भन्दै लगानी गर्न तयार भएको बताए ।

निर्देशक थापाले ‘प्रसाद’को मर्म र मुल्यलाई मर्न नदिने गरि यसको सिक्वेललाई तयार पार्ने बताए । अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने धारणा राखे । लेखक पौडेलले यो फिल्म नाम मात्रैको सिक्वेल नहुने बताए । ‘जहाँबाट प्रसादको कथा सकिएको छ प्रसाद २ त्यहिँबाट सुरुहुनेछ । बाबुराम र नारायणी गाउँ फर्किएपछि उनिहरूको जीवनमा आउने उतार चढाव नै फिल्मको केन्द्र हो’, पौडेलले भने ।

यो फिल्ममा ‘प्रसाद’मा मुख्य भुमिका निभाएका अर्का अभिनेता निश्चल बस्नेत बाहिरिँदा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । अब विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा फिल्मको मुख्य अभिनयमा रहनेछन् भने साथमा राज कटुवाल,कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायत अभिनयमा रहनेछन् ।

यसै साताबाट फ्लोरमा जाने फिल्मलाई कास्कीको याङ्जाकोट आसपास छायांकन गरिनेछ । ‘प्रसाद २’लाई राजेश श्रेष्ठले खिच्नेछन् । सम्पादनको जिम्मा मिलन श्रेष्ठले लिएका छन् । फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी रहने गीतहरुमा संगीत राजनराज शिवाकोटीसँगै हरि लम्सालले भर्नेछन् ।

फिल्म निर्माण टिमले आगामी तिहारलाई फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ । निर्माता थापाले फिल्मलाई तिहारमा दर्शकमाझ ल्याउने तयारी अनुसार नै छायांकनमा जान लागेको बताए ।

तश्विरः सुरेन्द्र थापा

Loading...
Comments