Logo

प्रमोद र त्रिशालाको स्वरमा यस्तो बन्यो एआई प्रविधिमा तयार पारिएको गीत |भिडियो

काठमाडौं । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको संगीत छ ।

गीतको भिडियोको सम्पूर्ण काम आर्टिफिसियल इन्टेलिजेन्स(एआई) प्रविधिमा निर्माण गरिएको छ । भिडियो नेपाल र अमेरिकाबाट एकै साथ रिलिज गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सम्भवत पहिलोपटक निर्देशक नव ढुंगेलको कल्पनामा एआई एनिमेसनको प्रयोग गरेर यो गीतको भिडियो निर्माण गरिएको हो ।

गीतले विद्यार्थीहरुलाई राम्रा बानी व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाईलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोच भन्दामाथि उठेर जे जस्तो काम, पेशा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।

गीतकार खड्काले गायनमा गीतको समग्र भाव अनुसारकै गायकगायिका रोजिएको बताए । ‘गीतमा प्रमोद र डा. त्रिशालाको संयुक्त स्वरले बाबुआमा मिलेर आफ्नो सन्तानलाई सुमार्गमा लाग्न प्रेरणा दिएको अनुभूती गराउन खोजिएको छ’, उनले भने ।

अमेरिकन गायक तथा संगीतकार जोन माएर र भारतीय कम्पोजर ए.आर. रहमानको संगितबाट प्रभावित संगीतकार सिंहले गीतमा फरक किसिमको संगीत दिएका छन् । उनले संगीत दिएका फिल्महरु ‘प्रेम गीत २’, ‘भिसा गर्ल’, ‘मुखौटा’, ‘हँसिया’लगायत हुन् । गीतमा दिक्षित पौडेलको एरेन्ज, दिनेश श्रेष्ठ(डी.स्टुडियो)को रेकर्ड छ । गीतको भिडियोमा राजु बस्नेतको सम्पादन छ । उनलाई इमेज जेनेरेटमा सदिक्षा कट्टेलले साथ दिएकी छन् । गीतको कभरपेज डिजाइन ग्राफिक डिजाइनर तथा भिडियो निर्देशक अनिल स्थापितले तयार पारेका हुन् ।

Loading...
Comments