‘फेरि रेशम फिलिली’लाई चौतर्फी तारिफ: प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । बुधबारबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’को मंगलबार साँझ राजधानीमा भव्य प्रिमियर गरिएको छ। फिल्म हेर्ने प्राय: सबै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । सिनेमा आर्टस् ब्यानरको यो फिल्म हेर्न अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए।
सिनेमाको प्रिमियरमा पुगेका ‘ऊनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई सिनेमा ‘फिलिली’ अर्थात् राम्रो लागेको प्रतिक्रिया दिए भने वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमालाई ‘बबाल रमाइलो’ भन्दै थम्सअप गरे।

यसैगरी ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले सिनेमा आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने सिनेमाका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे। ‘पिताम्बर’ सिनेमाको प्रदर्शनको तयारीमा रहेकी निर्मात्री-निर्देशक कृषा चौलागाईंले ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘उत्कृष्ट’ भएको प्रतिक्रिया दिँदै ‘यो फिल्म हेरेन भने रमाइलो गर्नै बिर्सनुहुन्छ’ भनिन्।
अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलिली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले सिनेमा ‘एकदमै मनोरञ्जक’ बनेको बताइन्। ‘कबड्डी’ सिरिजमा ‘झाँक्री बा’ पात्रबाट लोकप्रिय बनेका सिनेमा लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाले आफ्ना दुबै हातले थम्सअप गर्दै उत्कृष्ट ‘फिलिली’ भन्ने प्रतिक्रिया दिए।

यस्तै चर्चित कमेडियन सुमन कार्कीले ‘बबाल मजा आयो, मस्त’ भन्दै सिनेमामा ‘हाजमोला’ चरित्र निर्वाह गरेका आफ्ना समकालीन साथी म्याकसम गौडेलको तारिफ गरे। उनले आफ्ना साथीलाई ठूलो पर्दामा पहिलो पटक देख्न पाउँदा खुशी लागेको बताए।
यसैगरी निर्माताहरू सरोज न्यौपाने र रोहित अधिकारीले सिनेमा राम्रो लागेको बताए भने हाल ‘जेरी अन टप’ निर्देशन गरिरहेका सुयोग गुरुङले पनि आफूलाई सिनेमाले पूर्ण सन्तुष्ट पारेको बताए।
यस्तै अभिनेत्री सिमरन खड्काले सिनेमा एकदमै राम्रो लागेको बताउँदै ‘कामेश्वर चौरसिया सर केकमा चेरी हुनुहुन्छ, सबै जना आएर हेरिदिनुहोला’ भनिन्।
यसैगरी कलाकार र सिनेकर्मीको साथमा प्रिमियरमा सिनेमा हेरेका रंग पत्रकारहरूले सिनेमा रमाइलो, व्यवसायिक बनेको भन्दै डेब्यू निर्देशक निरोज महर्जनको कामको तारिफ गरे। उनीहरूले नेपाली सिनेमाले राम्रो निर्देशक पाएको बताएका थिए।
उता स्ट्यान्डअप कमेडियन भरतमणि पौडेलले पनि म्याकसम गौडेलको उच्च प्रशंसा गर्दै आफूले सो भूमिका गर्न नसक्ने बताए। अर्का कमेडियन सुमन कोइरालाले सिनेमालाई ‘पैसा वसुल’ रहेको प्रतिक्रिया दिए।
महाशिवरात्रीको अबसरमा प्रदर्शनमा आएको यो सिनेमाले पहिलो दिनको सुरुवाती शोजहरूमा सुखद दर्शक पाएको छ । फिल्मले पाउने ‘वर्ड अफ माउथ’ले फिल्मलाई लामो रेशको घोडा बनाउन सक्ने विश्लेषण सिनेवृत्तमा छ ।







