टिजरमा हेर्नुहोस् ‘जनै हराएको मान्छे’ |भिडियो

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ ।
विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको छ टिजरमा उल्लेख छ ।
टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ ।
बलियो लाइनअप देखिएको चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।







