Logo

नाजीर स्टारर ‘गुन्यु चालो’ गीत रिलिज, प्रदर्शन मिति घोषणा


काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो ।

लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ ।

गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ । आफूलाई माया गर्ने हो भने भोगेर जान तर माया गरेको प्रमाण दिन गीतमा भनिएको छ ।

देख्दै मन पराएपछि आफूलाई पनि मनबाट चोखो माया गर्न गीतमा आग्रह गरिएको छ । मन परेपछि जोवन सुम्पिन तयार रहेको भन्दै आफूलाई पनि मुटुमा सजाउन भनिएको गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ ।

महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।

निर्माण टिमले चलचित्र रिलिज डेट पनि घोषणा गरेको छ । ‘गुन्यु चालो : द ड्रेस’ भदौ १३ गते रिलिज हुनेछ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । आलोक सुक्लाले फिल्म छायांकन गरेका हुन् ।

Comments