टिजर प्रतिक्रियाले उत्साहित ‘जनै हराएको मान्छे’ !

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को टिजरले सकारात्मक प्रतिक्रिया पाएको छ । छोटो समयमा १२ लाखभन्दा धेरै दर्शकले युट्यूवमा टिजर हेर्दा निर्माण टिमलाई राहतका कमेन्टहरू व्यक्त छन् ।
टिजर हेरिसक्दा धेरैले अभिनेता विजय बरालको अभिनयको तारिफ गरेका छन् । धेरै युवाको पैसा कमाउने आकर्षक गन्तव्य बनेको कोरियोको कथा टिजरमा उठान गरेकोमा दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ ।

टिजरमा आइरहेका प्रतिक्रियाप्रति निर्माण टिम उत्साहित छ । विषय छ र पात्र छनोटमा दर्शक सन्तुष्ट रहेकाले अब सिनेमा पनि त्यस्तै ल्याउनुपर्ने चुनौती रहेको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । दर्शकले सिनेमा मन पराउने गरी आफूहरूले कथादेखि मेहनत गरेको उनको दाबी छ । कतार, दुबई, मलेसियाका धेरै कथा आइरहेका बेला कोरियाको कथा आउँदा प्रतिक्रिया हेर्दा यसले पनि उत्साह दर्शका थपेको निर्देशक न्यौपानले बताउँछन् ।
हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।







