Logo

मल्टिस्टारर ‘जेरी अन टप’ पोस्टर सार्वजनिक

काठमाडौं । तिहारको अबसरमा आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले फिल्मको प्रचार थालनी गर्दै बिहिबार एकसाथ तीन पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन् । पोस्टरमा समावेश पृष्ठभूमिले फिल्मको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अबतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अबतारमा छन् । पोस्टरले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम रहेको संकेत गर्छ ।

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अनमोल, आँचल र जसितासँगै चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख अभिनयमा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन् ।

निर्माता सरोज न्यौपानेले बिहिबार सार्वजनिक पोस्टरलाई सुरुवात मात्र भन्दै बिस्तारै फिल्म भित्रका विभिन्न सरप्राइज खुल्दै जाने बताए । पोस्टर सार्वजनिक गर्दै न्यौपानेले फिल्मलाई सम्पूर्ण टिमको अथाह मेहनतपछिको परिणाम भनेका छन् ।

सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्मलाई छायांकन गरिएको छ । फिल्मका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।

सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो फिल्मको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।

‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।

Comments