Logo

‘सिटामोल’ औषधिको नाम होइन, समाजमा व्याप्त पीडाको प्रतीक हो’

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ । सिनेमाले उठाएको विषयवस्तु वरपर घुमेको ट्रेलरलाई सामाजिक सञ्जालमा दर्शकले सुखद प्रतिक्रिया दर्शाएका छन्।

सौगात मल्ल, वेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, बाल कलाकार करण नेपाली जस्ता कलाकारहको दमदार अभिनय झल्किने यो ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

ट्रेलरको सुरुवातमै दर्शकले गाउँको परिवेश, पुराना मूल्य-मान्यता र आधुनिक यथार्थबीचको टकराव देख्न पाउँछन् । सौगात मल्लको पात्र एक संवेदनशील तर विद्रोही स्वभावको व्यक्ति देखिन्छ । जसले आफ्नो परिवार र समाजबीच सन्तुलन खोजिरहेको छ । वेनिशा हमालले एक आत्मविश्वासी महिलाको भूमिकामा गहिरो प्रभाव पार्छिन् ।

सामाजिक मुद्दा उठान गरेको सिनेमाको ट्रेलरले स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण, अनि सामाजिक विभाजनजस्ता मुद्दाहरूलाई गम्भीर तर भावनात्मक शैलीमा उठाएको छ। ‘सिटामोल’ केवल औषधिको नाम होइन, समाजमा व्याप्त पीडाको प्रतीक हो, निर्माण टिमको दाबी छ ।

गत वर्ष रिलिज भएको सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ पश्चात अर्को दर्शक रुवाउने सिनेमाको रुपमा ‘सिटामोल’ देखिएको प्रतिक्रिया कमेन्टबक्समा देख्न सकिन्छ । जसले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाएको छ । ट्रेलरले दर्शकहरूमा उच्च प्रतिक्षा सिर्जना गरेको छ। यदि ट्रेलरमा देखाइएको कथा र भावनालाई पर्दामा न्याय गर्न सकेको खण्डमा ‘सिटामोल’ एक अविस्मरणीय सिनेमा बन्ने देखिन्छ ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात र वेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

Comments