Logo

विजय बराल स्टारर ‘जनै हराएको मान्छे’ ट्रेलर सार्वजनिक |भिडियो

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।

चलचित्रका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुनि बास बसाउन देखेको सपना पूरा गर्ने रहरमा आफ्नै जिन्दगी अरूको बन्दकमा राख्नु परेको बाध्यात्मक अवस्था ट्रेलरमा देखिएको छ ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् ।

आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

Comments