‘जनै हराएको मान्छे’ धार्मिक फिल्म होइन्ः निर्देशक न्यौपाने

काठमाडौं । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक फिल्म नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । विषय र प्रसंगले जुरेको नामका आधारमा फिल्म नै धार्मिक हो कि भन्ने आंशका गरिएको उनको भनाइ छ ।
“हाम्रो फिल्म धार्मिक होइन । सोसल स्टोरी हो । विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो,” निर्देशक न्यौपानेले भने, “तर, पनि हामी क्रिएटिभ काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौं । काम गर्ने मान्छे काम गरौँमा कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिडौं भनेर शब्द परिवर्तन गर्यौँ ।” यसअघि यो फिल्मको नाम जनै हराएको बाहुन राखिएको थियो ।
यद्यपि, निर्देशक न्यौपाने आफूहरूले चाहेको भए पुरानै नाम राखेर फिल्म बनाउन सक्ने बताउँछन् । सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न सक्ने उनको भनाइ छ । कसैले पनि कुनै पनि विषयमा फिल्म बनाउन रोक्न नसक्ने उनी प्रष्ट पार्छन् । सर्जकको अधिकारमा हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै यसमा सरकार चनाखो हुनुपर्नेमा उनको जोड छ ।
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा बलियो लाइनअप रहेको छ । फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।







