Logo

‘३६को आँकडा’लाई काठमाडौं झरिन् निरुता

काठमाडौं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बइबाट आइतबार राती नेपाल आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् ।

निरुताले भनिन्, ‘अब म कही पनि जादिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मलाई कोरोना भयो । त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कही पनि जान्नँ ।’

निरुताले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । बिचमा केही फिल्मबाट अफर आएपनि विभिन्न कुराहरु नमिलेर काम गर्न पाएको थिइनँ ।

यो फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए । निरुतालाई फिल्ममा लिनुको कारणबारे सविर भन्छन्, ‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले आग्रह गरेका हौं ।’

यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरुको पनि अभिनय छ । नायिका रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् ।

नायिका सिंहले फिल्म ‘दाल भात तरकारी’पछि नयाँ फिल्ममा काम गरेकी छैनन् । अब भने उनी आजबाट छायांकनमा जान लागेको फिल्म ‘३६को आँकडा’मा काम गर्न तयारी भएकी छिन् ।

Comments