फ्राइडे रिलिज: एकसाथ तीन फिल्मको भिडन्त
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट एकैसाथ तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । सर्वाधिक चर्चा पाएको ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ तीनवटै फिल्मले एकै दिन प्रदर्शन रोज्दै दर्शक तान्न केन्द्रीत छन् ।
‘माग्ने राजा’
ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मको कथा लेखन सामीप्यराज तिमिल्सेनाको हो । फिल्ममा माग्ने बुढाको नामले परिचित केदार घिमिरे प्रमुख पात्र छन्, उनको अपोजिटमा अभिनेत्री वर्षा शिवाकोटी छिन् । लेखक तिमिल्सेनाले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै दर्शकलाई हसाउँदै गम्भीर सन्देश पनि दिने फिल्म भनेका छन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीले यो फिल्म छायांकन गरेका हुन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’
‘पुर्णबहादुरको सारङ्गी’पछि लिड अभिनयमा आएको विजय बराल अभिनित यो फिल्ममा भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली प्रमुख अभिनयमा छन् ।
यो फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । हिमाल न्यौपाने निर्देशक हुन् ।
‘ताराहरू’
अभिनयमा भेट्रान कलाकार आशान्त शर्माको निर्देशन रहेको यो फिल्ममा आशान्त नै प्रमुख कलाकार हुन् भने अभिनेत्रीमा मेनुका प्रधान छिन् । मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथा उठान गरेको यो फिल्ममा निर्देशक शर्माकै कथा लेखन छ । सरद महतोले फिल्मलाई छायांकन गरेका छन् ।







