ट्रेलरमा हेर्नुहोस् ‘अभिमन्यु : च्याप्टर–१’ |भिडियो

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले बिहिबार सार्वजनिक गर्यो ।
ट्रेलरले चलचित्रको कथा खुलाउने संकेत गर्छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाबुसँग फिरौती रकम माग्ने युवकको कथा चलचित्रमा रहेको ट्रेलर बोल्छ ।
घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भनेर ट्रेलरमा समेटेको छ । पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलरमा देखाइएको छ । सुशान्त गौतम चलचित्रका निर्देशक हुन् ।
‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमामा यो चलचित्र निर्माण भएको हो ।







