प्रकाश सपुतको ‘सोल्टिनी’ भाइटिका रिलिज तय

काठमाडौं । पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ।
यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ।
सार्वजनिक पोस्टरहरूमा चलचित्रको कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशलाई देखाउने प्रयास गरिएको छ । सामुहिक पोस्टरमा लोकसंस्कृति, नाचगान र हास्य–मनोरञ्जनको आभास पाइन्छ।
चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरे। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ।
‘सोल्टिनी’का गीतहरूमा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्।







