Logo

विभिन्न कार्यक्रम गर्दै चलचित्र कलाकार संघले स्थापना दिवस मनायो

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले ३७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । संघले आइतबार चलचित्र विकास बोर्डको सभाहलमा अन्तर्क्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न गर्यो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव साझा गर्दै दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार प्रस्तुत गरे। उनले हरेक दशकमा दर्शकको मनोवृत्तिमा आएको रूपान्तरणबारे चर्चा गर्दै अहिलेको विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौतीसँगै अवसर पनि ल्याएको बताए।

त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डका हालका योजना र कार्यसमिक्षा प्रस्तुत गर्दै नेपाली चलचित्रलाई जोगाउन र रोजगारी सिर्जनामा हमालको योगदानको प्रशंसा गरे। उनले हमाललाई “महानायक” भन्नेमा कुनै विवाद नरहेको उल्लेख गर्दै भने, ‘उनी निर्देशक, निर्माता वा प्राविधिक को भन्ने नसोची निरन्तर काममा लागे, जसले धेरैलाई रोजगारी दियो र संकटमा पनि चलचित्रलाई बचाउन मद्दत गर्यो।’

कार्यक्रममा अभिनेत्री अन्जना बराईलीले आफूले चलचित्र क्षेत्रमा प्रवेश गर्दा कुनै प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई ‘डराउनुपर्ने कारण छैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ’भन्ने सन्देश दिइन्।

चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार तथा प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसअघि पहिलो दिन राजधानीको भण्डारखालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो।

Comments