कार्तिक १४ मा ‘परान’: फर्स्टलूक सार्वजनिक गर्दै प्रचार सुरू !

काठमाडौं । हाँस्य कलाकार दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ। बिहिबार फर्स्टलूक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत गरिएको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ।
पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ। यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन।
फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले फिल्मको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ। यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ।
दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।
निर्देशक आचार्यले फर्स्टलुक ल्याएसँगै फिल्मको प्रचारप्रसार सुरू भएको बताए। उनले भने, ‘अहिलेसम्म फिल्मलाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं। पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ। अब तीव्र रूपमा प्रचारप्रसारमा लाग्छौं।’
रिदम कंडेलको संगीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्। ‘परान’ दसैं र तिहारलगत्तै देशभरका सिनेमा हलमा कार्तिक १४ देखि प्रदर्शनमा आउनेछ।







