तक्मेबुढा निर्देशित ‘मैझारो’ टिजर रिलिज |भिडियो

काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो।
सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनः बीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ।
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’लाई निर्देशक विल्सन बिक्रम राई ‘तक्मेबुढा’कै कथामा निर्माण भएको हो। फिल्ममा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।







