Logo

‘गोबर गणेश’ पोस्टरः बल्छि धुर्बेसँग प्रसन्न वर्षा !

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने चलचित्रको निर्माण पक्षले आज पोस्टर सार्वजनिक गर्दै प्रचार अघि बढाएको हो ।

पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रष्ट्याउँछ ।

वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् । दुवै प्रशन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू खुशी-खुशी जीन्दगी बिताइरहेको प्रतित हुन्छ ।

‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका हुन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’बाट सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए । दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियो पब्लिसिटी पार्टनर छ ।

Comments