Logo

‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’को पथ पछ्याउने ‘मिरमिरे’ टिमको विश्वास !

काठमाडौं । गत वर्ष बावु छोराबीचको भावनात्मक सम्बन्ध रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ऐतिहासिक ग्रस कलेक्सन गर्‍यो । नेपालबाट मात्रै ४६ करोड माथिको ग्रस कलेक्सन गर्‍यो । यो सिनेमामा बावुले छोराका लागि गरेको संघर्षलाई दर्शकले मन पराउँदा चलचित्रले ऐतिहासिक रेकर्ड बनायो ।

यो वर्ष अर्को चलचित्र ‘परान’ले पनि अहिलेसम्मकै धेरै कमाइ गर्‍यो । यो चलचित्रमा पनि बावु र छोराको कथा नै छ । छोराहरू आफूसँगै बसुन् भन्ने बावु तर छोराहरू परदेशिने कथा छ । यसमा पनि बावु र छोराबीचकै इमोस्नल कथा छ । यही इमोस्नल कथा दर्शकले रुचाए ।

अब यस्तै अर्को चलचित्र आउँदैछ, तर यो बावु र छोराबीचको होइन, बावु र छोरीबीचको इमोस्नल ड्रामा हो । सन्तानप्रति बावु आमाले गर्ने अथाहा स्नेह र त्याग अहिले नेपाली चलचित्र बजारमा बिक्री भएको कथा हो ।

यही कथा लिएर चलचित्र ‘मिरमिरे’ माघ १ गते आउँदैछ । छोरीका लागि बावुले गरेको संघर्ष यो सिनेमामा छ । आमाले घर छोडेपछि छोरी र बावु मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ ।

छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बावुले छोरीप्रति निभाएको कर्तव्य ‘मिरमिरे’मा छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

“हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,” मिरमिरेका निर्देशक यम शेर्पा भन्छन्, “बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।”

हरेक घरघरको कथा भएकाले ‘मिरमिरे’लाई दर्शकले मन पराउने र अधिकांशले आफूमा रिलेट गर्ने उनी बताउँछन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

Comments