दोस्रो हप्तामा ‘अभिमन्यु’, हलले पर्याप्त स्थान नदिएको निर्माण टिमको गुनासो

काठमाडौं । गत मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको नेपाली सिनेमा ‘अभिमन्युः च्याप्टर १’ दोस्रो हप्ता प्रवेश गरेको छ । नेपालसँगै विभिन्न देशमा प्रदर्शनको क्रममा रहेको फिल्मले शक्रबारबाट दोस्रो हप्ताको प्रदर्शनी थालेको हो ।
सिनेमाको निर्माण टिम हल सञ्चालकहरूबाट प्राप्त शोजहरूमा भने सन्तुष्ट छैन । ‘दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँ-ठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन् ।’, निर्माण टिमको तर्फबाट मिडिया संयोजकले उपलब्ध गराएको विज्ञप्तिमा उल्ले छ ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस सिनेमामा मुकेश खनालको लेखन रहेको छ ।
सिनेमामा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘अभिमन्युः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
शरद महतो डिओपी रहेको यस सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् । फिल्मको आधिकारिव बक्स अफिस रिपोर्ट भने सार्वजनिक छैन ।







