Logo

विदेशमा ‘आचार्य’को हाइ डिमाण्ड, निखिल भन्छन्ः ‘ट्रेलर सार्वजनिकपछि निर्णय लिन्छु’

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती यतिबेला आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को धमाधम छायांकनमा व्यस्त छन् । फ्लोरमा जानु पूर्व नै चर्चा कमाएको यो चलचित्रलाई निखिलले कुन रूप दिन्छन् दर्शक तथा शुभचिन्तकहरूमाझ व्यग्र प्रतिक्षा छ ।

पहिलो चरणको छायांकन भारतको पश्चिम बंगालमा सकाएका निखिलले यतिबेला गृह जिल्ला सर्लाहीमा आफ्नो फिल्मको दृश्यांकन गरिरहेका छन् । सर्लाहीको सेड्यूअल सकिएसँगै शुक्रबारदेखि टिम काठमाडौं प्रस्थान गर्ने सेटबाट निखिलले बताए ।

काठमाडौं, पोखरा, स्याङ्जा लगायतका ठाउँमा छायांकनपछि चलचित्र पोस्ट प्रोडक्सनमा जानेछ । हालसम्म यो चलचित्रको सार्वजनिक प्रदर्शन मिति तय गरिएको छैन । नेपालीसँगै भारतीय कलाकार र प्राविधिकहरूको फ्युजनमा बन्दै गरेको यो चलचित्रसँग जोडिएको कुनै पनि सामग्री सामाजिक सञ्जालमा आउँदा जुन प्रकारको इन्गेजमेन्ट देखिएको छ त्यसले पनि निखिलको यो प्रोजेक्टमा दर्शकहरूको उच्च आकर्षण पुष्टि हुन्छ ।

त्यसो त निखिलले यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा देखाएको मौनता आफैमा कौतुहलजन्य विषय हो । ‘आचार्य’लाई लिएर निखिलले हालसम्म केहि पनि सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेका छैनन् ।

यद्धपि निखिल तथा उनको टिमले आधिकारिक रूपमा यो चलचित्रको बारेमा र चलचित्रमा जोडिएका तथ्यहरूको बारेमा कुनै पनि कुरा बाहिर ल्याएको छैन ।

यो चलचित्रमा निखिल नै प्रमुख अभिनेता हुन् । बलिउड तथा दक्षीण भारतीय चलचित्रहरूमा प्रभाव जमाएका कलाकारहरूले पनि यो फिल्ममा अभिनय गरिसकेका छन् । सम्पूर्ण छायांकन सकेपछि अनुकुल समयमा ‘आचार्य’को बारेमा आधिकारिक तथ्यहरू बाहिर ल्याउने निखिल बताउँछन् ।

यसैबीच फ्लोरमै रहँदा नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा समेत यो चलचित्रको उच्च माग देखिएको छ । अष्ट्रेलिया, जापान, अमेरिका, यूरोपसँगै मध्यपूर्वका विभिन्न देशहरूबाट अहिले नै चलचित्रको उच्च माग आइरहेको निखिलले बताए । यतिबेला म कसरी ‘आचार्य’लाई उत्कृष्ट बनाउने भन्नेमै केन्द्रीत छु, निखिल भन्छन्, ‘राम्रो प्रडक्ट निस्किँदा त्यसले मूल्य पनि सोहि प्रकारको पाउनेमा निश्चिन्त छु, तत्कालै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री बारे सोचेको छैन ।’

आफ्नो करियरको दशकौं लामो अनुभव, मेहनती कलाकार र प्राविधिकको परिश्रमले ‘आचार्य’ नेपाली चलचित्र उधोगमै नयाँ आयाम दिने विश्वास निखिलको छ । ‘यसले उठाएको कथावस्तु आफैमा भिन्न छ, मुलतः कुनैपनि चलचित्र दर्शकको मनोरञ्जनको लागि बन्ने हो, फिल्म हेरिहँदा त्यो चलचित्रले दर्शकलाई बाँध्न सक्यो, दर्शकले चलचित्रमा दृश्यहरूमा आफुलाई ‘रिलेट’ गर्न सक्नु भयो भने त्यति बेला निर्देशक र समग्र फिल्मको सफलता जोडिन्छ, निखिल भन्छन् , ‘प्रडक्ट बजारमा पुगेपछि व्यवसायमा त आफैं जोडिन्छ नै, तर नेपाल र डायस्पोराका हरेक दर्शकले ‘आचार्य’बाट निराश हुनपर्ने छैन, यति चाहिँ ढुक्कसाथ भन्न सक्छु ।’

अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारबारे भने फिल्मको टिजर ट्रेलर सार्वजनिकपछि अघि बढ्ने निखिलले बताए । नेपाली चलचित्रमा एक्सन स्टारको परिचय स्थापीत गरेका निखिलले सामाजिक कथाको यो फिल्ममा विश्वस्तरीय एक्सन जोडिएको बताउँदै आएका छन् । यसअघि २०१५ मा रिलिज भएको फिल्म ‘भैरव’बाट निर्देशकीय यात्रा सुरू गरेका निखिलको लागि ‘आचार्य’ निर्देशन करियरको दोस्रो चलचित्र हो ।

Comments