Logo

आठौं हप्तामा ‘परान’, बक्सअफिसमा ‘छक्का पञ्जा’ र ‘जारी’को रेकर्ड ब्रेक

काठमाडौं । सुपरहिट फिल्म ‘परान’ले प्रदर्शनको सातौं हप्ता पूरा गरेको छ । शुक्रबारबाट आठौँ हप्ताको प्रदर्शनी थालेको फिल्मले नेपाली बक्सअफिसमा पनि किर्तिमानी विजनेसलाई निरन्तरता दिइरहेको छ ।

प्रदर्शनको ऐतिहासिक ५१ औं दिन पूरा गर्न तयार बनेको फिल्मको निर्माण टिमले सो अबसरमा शनिबार एक कार्यक्रम समेत आयोजना गरेको छ । निर्माण टिमले फिल्मको सफलताको ५१ औं दिने प्रदर्शनको अबसरमा शनिबार टोखा चन्डेश्वरीस्थित एक अनाथ आश्रममा न्यानो कपडा बाँड्ने कार्यक्रम राखेको छ । फिल्मको विजनेससँगै सामाजिक कार्यमा देखाएको सक्रियता तारिफयोग्य बन्ने विश्वास निर्माण टिमको छ ।

दीपक आचार्य निर्देशित फिल्मले हालसम्म नेपाली बक्सअफिसमा १७ करोड ५५ लाख माथिको कमाइ गरिसकेको छ । योसँगै नेपालमा सर्वाकालिन हिट फिल्मको सूचीमा चौथो स्थान लिएको छ ।

हालसम्मको विजनेसमा यो फिल्मले १७ करोड ५३ लाख कमाउने ‘छक्का पञ्जा ४’ र जारी (१७ करोड ४८ लाख)लाई उछिनेको छ । अब नेपालभित्र ‘परान’ भन्दा बढि विजनेस गर्ने फिल्ममा ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारङ्गी’ मात्र छन् ।

वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरेको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्दसँगै पछिल्लो पुस्ताका कलाकारहरू बुद्धि तामाङ, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रवीण खतिवडाले अभिनय गरेका छन्।

Comments