‘रमिताको पिरती’ गीत रिलिजः ‘जुनी भर’ आना फकाउँदै विनय !

काठमाडौं । आगामी माघ २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’मा समावेश गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । फिमेल भर्सनमा महेशलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् ।
रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य कलाकारहरू आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्य देखाइएको छ । यसले, विनय र आनाको प्रेमको सुरुवातको रुपमा यो गीत तयार भएको वुझ्न सकिन्छ ।
फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरुको पनि अभिनय छ । सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको फिल्ममा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन् ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर बिशाङ्खेको डीओपी, साहिल खानको ट्रेलर र टिजर छ । सुनिल सिभाकोटीको सम्पादन रहेको फिल्मको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।






