Logo

‘सिन्दुरे जात्रा’मा विजयको जोडी अञ्जना

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।

अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ ।

अन्य कलाकार विस्तारै अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले बताए । “सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ,” निर्देशक सरोजले भने, “अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौँ ।”

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले केही जानकारी दिएका छैनन् ।

Comments