‘शिवांश’को ‘शिव ताण्डव’मा कैलाश खेरको स्वर

काठमाडौं । चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ ।
निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्र छन् ।
महाशिवरात्रिको छोको पारेर फागुन १ गते रिलिज हुने चलचित्र ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत-नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।
आफ्नो ओजपूर्ण आवाजका लागि विश्वभर चर्चित खेरले नेपाली चलचित्र ‘शिवांश’मा समावेश ‘शिव ताण्डव स्तोत्रम्’ गायनको सन्दर्भमा यो सन्देश दिएका हुन् । उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकाश जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।






